काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासंघले निर्माण व्यवसायलाई पूर्र्ण उद्योगको मान्यता आवश्यक भएको बताएको हो ।
यस्तै, महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खनन्मा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ । जवाफमा मन्त्री भण्डारीले समय सापेक्ष ऐन नियम नहुँदा निर्माण उद्योगमा समस्या देखिएको बताएका थिए । निर्माण व्यवसायीहरूको रकम भुक्तानी नभएको विषयलाई गम्भीररूपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउँदै मन्त्री भण्डारीले मौद्रिक नीति पनि निर्माण व्यवसायीमैत्रीरूपमा आएको बताए । निर्माण व्यवसायीहरूसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।
समृद्धिको महत्वपूर्ण पाटो मानिने निर्माण व्यवसायको विकास विस्तारमा सरकार संवेदनशील रहेको भन्दै मन्त्री भण्डारीले नेपालका निर्माण व्यवसायीहरूले विदेशमा समेत गर्व गर्न लायक काम गरेको बताए ।