काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कास्कीको पोखरामा रहेको एक सय ३२ रोपनी जग्गाको विवाद समाधान गर्न निर्देशन दिएका छन् । पोखरामा महानगरपालिका वडा नं १७ अन्तर्गत लामातहरामा रहेको एक सय ३२ रोपनी पाँच आना जग्गा लामोसमयदेखि हालसाविक हुन नसक्दा विवाद उत्पन्न भएको छ । सो जग्गासम्बन्धी समस्याको समाधानका लागि भूमिव्यवस्थामन्त्री अधिकार र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भटट्राईले सरोकारवालासँग बिहीबार सामूहिक छलफल गरेका थिए । छलफलमा साविक नक्साको त्रुटिका कारण आफूले खरिद गरेको जग्गा हालसाविक गरी दर्ता गर्न नपाउँदा तीन सय ५० भन्दा बढी घरधुरीले आफ्नो जग्गा खरिद बिक्री गर्न, बैंकमा धितो राख्न समस्या भएको स्थानीयले मन्त्रीसमक्ष गुनासो राखेका थिए ।
स्थानीयको गुनासो सुनेपछि सो जग्गाको समस्या समाधानका लागि सरोकारवालासँग सामूहिक छलफल गरेर तत्काल समस्या समाधान गर्न मन्त्रीद्वयले निर्देशन दिएका छन् । छलफलमा भूमि, व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, जिल्ला मालपोत र नापी कार्यालय कास्कीका प्रमुखहरू, स्थानीयवासीहरू र सरोकारवालासहित बसेको सामूहिक बैठकले विभिन्न विकल्पमाथि छलफल गर्दै ऐन, कानुन र प्रावधानमा टेकेर निकास निकाल्न सहमत भएका छन् ।
छलफलमा भूमि व्यवस्थामन्त्री अधिकारीले लामो समयदेखि हालसाविक हुन नसकेको, आफूले लामो समयदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा प्राप्त नभएकोजस्ता भूमिसम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले कानुनी र संस्थागत प्रबन्ध गरी कार्यलाई तीव्रता दिएको जानकारी दिए । यसैगरी भूमि समस्या समाधान आयोग गठन गरी आयोगले देशभरकै भूमिहीन सुकुम्बासीको समस्या स्थायीरूपमा समाधान गर्ने उनले बताए । छलफलमा शिक्षामन्त्री विद्या भटट्राईले नागरिकलाई अन्याय गर्ने हक राज्यलाई नहुने भन्दै ऐन कानुनमा भएको अस्पष्टता र कानुनी जटिलता हटाएर तत्काल समस्या समाधान गर्न आग्रह गरेकी थिइन् ।
छलफलमा भूमि व्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक र नापी विभागका महानिर्देशकले पोखरामा देखिएको हाल साविकको समस्या देशका अन्य भूभागमा समेत रहेको जानकारी दिएका थिए । उनीहरूले स्थानीय सरोकारवालाहरूसँग छलफल गरी तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाए । यो समस्याको निरुपण हुने भएपछि वषौंदेखि लालपुर्जाको स्वामित्व महसुस गर्न नसकेका पोखरा महानगरपालिका वडा नं १७ लामतहराका स्थानीयहरू हर्षित भएका छन् ।