काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्था इ–सेवाले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सेवाग्राहीहरूसँग अपिल गरेको छ ।
इ–सेवाले एक विज्ञप्ति जारी गरी आन्तरिक राजस्व विभागको ‘व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने’ निर्देशनको पालना गर्न सेवाग्राहीसँग अपिल गरेको हो । सरकारको आर्थिक ऐन २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ ‘क’ अन्तर्गत व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडारूपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन रहेको छ । निर्देशनअनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।
आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्युआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्युआरमार्फत गर्न प्रोत्साहनका लागि कम्पनीले इ–सेवाले बिहीबारदेखि इ–सेवाको सेन्ड मनी सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा केही छुटको व्यवस्था गरेको छ । इ–सेवाले दिनमा तीन पटक गरी महिनामा ३० पटकसम्म निःशुल्क कारोबार गर्न दिने भएको छ । साथै, एक सय रुपैयाँमुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहनेछन् । योबाहेकका सबै सेन्ड मनी कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लागू हुनेछ ।
‘सरकारको निर्देशनअनुसार इ–सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई पनि आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इ–सेवा खातामा जम्मा नगर्न अनुरोध गर्छ’, इ–सेवाको विज्ञप्तिमा उल्लेख छ । व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इ–सेवाले सुझाव दिएको छ । आफ्नो व्यापार व्यवसायमा भुक्तानी लिन इ–सेवाको प्रयोग गर्न इ–सेवा मर्चेन्ट खाता खोल्न पनि इ–सेवाले आग्रह गरेको छ । व्यावसायिक खातामा क्युआर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क नलाग्ने पनि इ–सेवाले जनाएको छ ।