पोखरा , पोखराको पर्यटन प्रवद्र्धन गर्न ‘डुलुवा’ टोली भारत प्रस्थान गरेको छ । ‘डुलुवा’ एक महिने भारत भ्रमणमा निस्किएको हो । टोलीमा १९ जना सदस्य छन् । भ्रमण अगस्ट १ देखि २५ सम्म पोखरा आएर सकिने छ । टोलीले भारतका विभिन्न सहरमा पुगेर स्थानीय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्तक्रिया गर्नेछ । नेपालको कास्कीकोटदेखि भारत कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको छ । टोलीको यात्रा भारतको रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडीचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै पुनः पोखरामै आएर समापन हुनेछ । टोली संयोजक योगश भट्टराईले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीयलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य रहेको संयोजक भट्टराईले बताए । टोलीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले बिदाई गरे । सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए ।नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिने बताए । पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीको भ्रमणले पोखरामा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए ।नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए । उनले भ्रमणबाट केही न केही नयाँ कुरा सिकिने बताए ।नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’ लाई युवा लक्षित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो ।‘डुलुवा’ ले नेपालका ७० जिल्ला र विदेशमा भारतको लद्दाखसम्मको यात्रा गरिसकेको छ ।