महेन्द्र शाही
सोलुखुम्बु, असार ११
सोलुखुम्बुमा मानिसको हड्डीसहित प्रकाउ परेका ३ जना अभियुक्त धरौटीमा रिहा भएका छन् । गत जेठ १९ गते जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङ्बोचेबाट चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा प्रकाउ परेका ३ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले दुई जनालाई जनही ३०–३० हजार र एक जनालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ५ का ३५ वर्षीय भिमबहादुर तामाङ र मोलुङ गाउँपालिका ८ ओखलढुङ्गाका लाङिमा शेर्पालाई ३०/३० हजार र सोताङ गाउँपालिका १ सोलुखुम्बुका टेकमान राईलाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । उनीहरूले बयानका क्रममा लाङिमा धामी भएको र धामीलाई आवश्यक पर्ने भएककाले मानव हड्डी उत्खन गरेको स्वीकार गरेको घिमिरेको भनाइ छ ।