नयाँदिल्ली । साइबर आक्रमणका कारण बिहीबार भारतका तीन सयभन्दा बढी साना बैंक तथा वित्तीय संस्थाको बैंकिङ सेवा ठप्प भयो । टेक्नोलोजी सेवा प्रदायक सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको हो ।
सी–एज टेक्नोलोजी भारतका साना बैंक तथा वित्तीय संस्थालाई बैंकिङ प्रणाली उपलब्ध गराउने कम्पनी हो । जसमा एसबीआई र टीसीएसको संयुक्त लगानी छ । सी–एज टेक्नोलोजीमा निर्भर सहकारी बैंक र ग्रामीण क्षेत्रीय बैंकका ग्राहकले बिहीबार अनलाइन भुक्तानी सेवा र एटीएमबाट पैसा निकाल्न सकेनन् ।
भारतीय रिजर्भ बैंक (आरबीआई) र सफ्टवेयर कम्पनीबाट अपराह्नसम्म पनि कुनै वक्तव्य नआएपछि सेवाग्राही झनै अन्योलमा परेका थिए । भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)ले भने सामाजिक सञ्जाल प्लेटफर्ममा एक सूचना जारी गर्दै प्रणाली प्रभावित भएको जानकारी गराएको थियो । उसले साइबर आक्रमणका कारण एनपीसीआईको खुद्रा भुक्तानी प्रणालीबाट सी–एजलाई अस्थायी रुपमा क्वारेन्टाइन गरिएको उल्लेख गरेको थियो ।
भारतीय राष्ट्रिय सहकारी संघले गुजरातका १७ जिल्लाका सहकारी बैंकसहित देशभरका तीन सय बैंक तथा वित्तीय संस्था दुई–तीन दिनदेखि भुक्तानीसम्बन्धी समस्यामा परेको जानकारी दिएका छन् । उनले बैंकहरु जुलाई २९ गतेदेखि समस्यामा रहेको र सफ्टवेयर कम्पनीका अधिकारीहरुले यसलाई प्राविधिक गडबडी भन्दै आएका छन् ।