काठमाडौँ । समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबाार प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवाल समेटेर पारित गराउन माग गरेको हो ।
प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजना स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।
पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोेजनाको चाँडो विद्युत् व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि सो संस्थाले माग गरेको छ ।