काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुने बताएकी छन् । फ्रेन्डस अफ सिल्क रोड क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभवसम्बन्धी कार्यक्रममा उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने बताइन् ।
‘चीनले आफ्नो अर्थतन्त्रमा उल्लेखनीयरूपान्तरण गर्दै करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गराउन सफल भएको अनुभव विकासशील राष्ट्रहरूका लागि महत्वपूर्ण प्रेरणाको स्रोत हो’, उनले भनिन्, ‘नेपालले आफ्नो विकासका लक्ष्यहरू हासिल गर्ने यात्रा सुरु गर्दा यो चीनको अनुभवबाट शिक्षा लिनुपर्छ ।’ उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बीचमा जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरूको आदान–प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरूलाई बढाउँदै आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आमनागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने धारणा राखिन् ।
चीन र नेपालले पूर्वाधार विकास, कृषि र ग्रामीण विकास, पर्यटन र ग्रामिण विकास, शिक्षा र क्षमता विकास तथा हरित विकास र वातारण संरक्षण क्षेत्रमा सँगै काम गर्न सक्ने क्षेत्रहरू भएको उनको भनाइ थियो । ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क नेटवर्कमार्फत सडक, रेल र हवाई सम्पर्कहरू बढाउँदा नेपालका लागि नयाँ आर्थिक अवसरहरू खोल्ने महत्वपूर्ण परियोजना हुन सक्ने उनले बताइन् । चीनले कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्न गरेको अनुभव आदान– प्रदान गरेर नेपालको कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिने उनको भनाइ थियो ।