काठमाडौं । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौंभित्र पर्यटक बसपार्कका लागि सरकारसँग आग्रह गरेको छ ।
टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले शुक्रबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौंभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो । अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन आग्रह गरिएको बताए ।
टिवानको टोलीले पर्यटक बसपार्कका लागि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत गौशालाको तिलगङ्गामा बसपार्क निर्माणको निर्णय भएकाले कार्यान्वयनका लागि पहल गर्न समेत आग्रह गरेको थियो । पर्यटक बस काठमाडौंको झोँसे गल्ली, कान्तिपथ सडक हुँदै विगत पाँच वर्षदेखि सोह्रखुट्टे सडकबाट सञ्चालन हुँदै आएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौंभित्रका स्थानीय तहसँग छलफल गरेर पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।