अमेरिका । तनाव थप बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप हतियार तैनाथ गर्ने भएकोे छ । अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक तैनाथ गर्ने जनाएको छ । इरानले इजरायलमाथि आक्रमण गरेमा सुरक्षार्थ प्रयोग गर्न उक्त लडाकु जेट तैनाथ गरेको बताइएकोे छ ।
तेहरानमा हमास प्रमुखको मृत्यु भएपछि सर्वोच्च नेता आयतोल्लाह खामेनीले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने धम्की दिएका थिए । यसै क्रममा इरान समर्थक संगठन हिजबुल्लाह र हुथीले पनि इजरायलबाट बदला लिने कुरा गरेका थिए । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पनि मध्यपूर्वमा ब्यालेस्टिक मिसाइलसहितको क्रुजर र विनाशक तैनाथ गर्न आदेश दिएका छन् । यसका साथै अमेरिकाले त्यहाँ अन्य बालेस्टिक मिसाइल रक्षा हतियार पनि पठाइरहेको छ ।
अमेरिकाले मध्यपूर्वमा १२ नयाँ युद्धपोत पठाउने तयारी गरेकाके छ । यसअघि अगस्ट १ मा वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा अमेरिकाले मध्यपूर्वमा १२ नयाँ युद्दपोट तैनाथ गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको टेलिफोन वार्तामा इजरायलको रक्षा गर्ने बाचा गरेका छन् ।