मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ जना यात्रुहरु घाइते भएका छन् ।
माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुहरुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरी नायव उपरीक्षक मिश्रले घाइते भएका सबै यात्रुहरु खतरामुक्त रहेको बताएका छन् । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । प्रहरीले अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको जनाएको छ ।