काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी वोल्कले सिंहदरबारमा सोमबार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेकी छिन् ।
उक्त भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेकामा राजदूत वोल्कको प्रशंसा गरिन् । नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा गरे ।
उक्त भेटमा राजदूत वोल्कले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा राजनीतिक दलहरुबीच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । उनले दलहरुबीचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
साढे तीन वर्षको कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी वोल्कले अब नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा नरहे पनि यहाँ रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैँ नेपालको सद्भावना दूतका रुपमा रहिरहने विश्वास दिलाइन् ।