पोखरा । पोखरामा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
यस अवधिमा बैंकले तीन करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुँदा बैंकको खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी आठ दशमलव १० प्रतिशत बढेको छ र खुद फि तथा कमिसन आम्दानी पनि १९ दशमलव ९१ प्रतिशत बढेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी ३९ दशमलव ८६ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा तीन दशमलव १८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज दुई करोड ८९ लाख पुगेको छ । जसका कारण बैंकको सञ्चालन नाफा एक सय २१ दशमलव २२ प्रतिशत बढेको हुँदा खुद नाफा पनि एक करोड ६४ लाखबाट बढेर तीन करोड ८६ लाखसम्म पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी तीन रुपैयाँ १८ पैसा बढेर सात रुपैयाँ १८ पैसामा पुगेको छ ।
असार मसान्तसम्म तीन करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस विकास बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ७९ पैसा छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ २३ पैसा छ । मूल्य आम्दानी अनुपात ६८ दशमलव ३८ गुणा छ ।
बैंकको चुक्ता पुँजी ५३ करोड ८७ लाख रुपैयाँ, जगेडा कोषमा आठ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले चार अर्ब ९७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी चार अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।