काठमाडौं । डिजिटल ठेगाना प्रणाली ‘कता हो’को नयाँ सेवा सार्वजनिक गरिएको छ । नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली कताहोमा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक गरिएको हो ।
यस सेवाबाट अब कता हो एपमार्फत निःशुल्क क्यूआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस गर्न सकिन्छ । उक्त सामान हराएमा जो–कोहीले पनि सामानधनी पत्ता लगाउन सक्नेछन् । यसको प्रयोगले ट्राभल गर्ने व्यक्तिहरुको लागि विश्वभर जुनसुकै स्थानमा पुगे पनि आफ्ना सामान हराएमा भेट्टाउने व्यक्तिले सोझै सामानधनी पत्ता लगाई सामान फिर्ता गर्न सक्छन् । आफ्नो पासपोर्ट, पर्स, साँचो, सुटकेस, मोबाइल, ल्यापटपजस्ता सामानहरुमा यो ट्याग टाँस गर्न सकिन्छ ।
सवारीसाधन पार्किङमा राख्दा अन्य सवारीसाधनलाई समस्या परेमा तुरुन्तै सवारीधनीलाई जानकारी गराउन समेत यसको प्रयोग गर्न सकिन्छ । गत माघमा सुरु भएको यो ठेगाना प्रणालीमार्फत स्वतःस्फूर्त रुपमा देशैभरबाट डिजिटल ठेगाना बन्दै आइरहेको एड्रेसग्राफ नेपाल प्रालिले जनाएको छ । कम्पनीका अनुसार कतिपय पालिकाहरुले यसै प्रणालीको माध्यमबाट ठेगाना तयार गरी टाँस गर्नको लागि सम्झौता नै गरी यसको प्रयोग गरिरहेका छन् ।