काठमाडौँ । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा मंगलबारदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।
सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवर्द्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।