काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गरेका छन् । मंगलबार दिउँसो एक बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन, अस्पताल तथा आपतकालीन कक्षको निरीक्षण गरेका हुन् ।
मन्त्री मनाङेले छत्रपाटी निःशुल्क अस्पतालको निरीक्षणको क्रममा भौतिक संरचना र नयाँ बन्दै गरेको भवनको संरचना निर्माण तथा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री मनाङ्गेलाई अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष डा श्रेष्ठले मन्त्री मनाङ्गेलाई अस्पतालको नयाँ भवन बन्दै गरेको, मुटुसम्बन्धी विशेष उपचार कक्ष तयार हुँदै गरेको जानकारी दिँदै क्यान्सरको उपचारसम्बन्धी नयाँ भवनमा अत्याधुनिक सुविधासहितको सेन्टर तयार हुँदै गरेको जानकारी दिएका थिए ।
अध्यक्ष डा= श्रेष्ठले छिट्टै कलेजोसम्बन्धी उपचारको लागि अत्याधुनिक मेसिन ल्याएर उपचार सुरु गर्न लागेको जानकारी दिए । अध्यक्ष डा श्रेष्ठले नयाँ बन्दै गरेको माउ बद्री भवनमा अब नयाँ अप्रेसन थिएटरको खाँचो रहेको र त्यसको लागि तीन करोडभन्दा बढी लगानी आवश्यक रहेको जानकारी गण्डकी प्रदेशमन्त्री मनाङ्गेलाई जानकारी गराएका छन् ।
अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको तारिफ गर्दै मन्त्री गुरुङले ठमेल क्षेत्रका विभिन्न होटल तथा व्यापारीलाई विशेष प्राथमिकता दिएर जनमुखी स्वास्थ्य सेवा दिँदा अस्पताललाई अझै राम्रो हुने धारणा समेत व्यक्त गरेका छन् । सहरी क्षेत्रमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंका भित्री तहका जनताको स्वास्थ्य उपचारमा विशेष भूमिका खेल्दै आएको छ ।
नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक प्रविधियुक्त अप्रेसन थिएटर सञ्चालन गर्न आवश्यक पहल गरी दिनका लागि मन्त्री गुरुङलाई अस्पताल सञ्चालक कार्यसमितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आग्रह गरेका छन् ।
अस्पतालका कार्यसमितिका अध्यक्ष डा. श्रेष्ठले विभिन्न निजी स्वास्थ्य प्रदायक संस्थाको तुलनामा छत्रपाटी निःशुल्क अस्पतालले सुलभ शुल्कमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘हामीले विभिन्न संस्थाहरूसँग आर्थिक सहयोग जुटाउँदै अस्पताल सञ्चालन गर्दै आएका छौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडाध्यक्ष नवीन मानन्धरसहितले आवश्यक सहयोग जुटाएको उल्लेख गरे ।’
क्षत्रपाटी निःशुल्क चिकित्सालय सामुदायिक अस्पताल हो । २०१३ सालमा स्थापना भएको सो अस्पतालको व्यवस्थापन स्वयम्सेवकको रूपमा कार्यरत छन् ।