गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका तीनजना सबैको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।
मङ्गलबार बिहान स्थानीय जोगबहादुर बुढाको घर पहिरोले पुरिँदा छ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । घाइतेलाई प्रतिकूल मौसमका कारण स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन । उनीहरूको नेपाली सेनाका स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ ।