काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।
समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गएपश्चात विद्यार्थीले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना आधा करोडभन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।