काठमाडौं,बैंकिङ प्रणालीमा अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तानेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत निक्षेप संकलन उपकरण बिक्री गरी २१ दिन अवधिका लागि सो रकम प्रशोचन गरेको हो । निक्षेप सङ्कलन उपकरणको साँवाब्याज भुक्तानी २०८१ भदौ १२ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमार्फत सो रकम तानिएको राष्ट्र बैंकले जनाएको छ ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरिएको थियो । यसरी खरिद गरिएको निक्षेप सङ्कलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिने व्यवस्था छ ।
अख्तियारलाई तिर्नुपर्ने जरिबाना अब बैंकमार्फत
राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोडमा ७७ वटै जिल्लाबाट संघीय राजस्व खातामा राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगले यही साउन १६ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन आग्रह गरेको थियो । आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण फारम भरी तोकिएको मितिभित्र पेस नगर्ने सार्वजनिक पदधारण गरेका पदाधिकारी÷कर्मचारीले पाँच हजार जरिबाना तिनुपर्ने जानकारी अख्तियारले दिएको छ ।