केपटाउन, असार ११
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
‘आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा संक्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु’, उनले भने । इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन् । संक्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९ सय ९३ जना भने संक्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिए । पछिल्लो विवरण अनुसार देशभरी एक लाखभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेकाले संक्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको स्वास्थ्य मन्त्रीको भनाई छ ।
आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ । त्यसैगरी अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाविरुद्धको लडाईमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ । उनीहरुलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखीजाले दिएका छन् । (रासस/सिन्ह्वा)