दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का मानबहादुर तामाङले ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् । निर्माण व्यवसायी समेत रहेका तामाङले आफ्नो बाँझो रहेको १२ रोपनी जग्गामा तीन वर्ष अगाडि ड्रागन फ्रुटको बिरुवा रोपेका थिए ।
बिरुवा रोपेको तीन वर्षमा १० लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए । ‘खेती सुरु गरेको करिब २७ महिना भयो, छ रोपनीबाट सुरु भएको खेतीलाई अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु’, उनले भने । खेती थालेको १६ महिनामै परीक्षण उत्पादन भएपछि दुई हजार बिरुवा थप गरेर खेतीको विस्तार गरेको उनले बताए । बिरुवा रोपेको दोस्रो वर्षमा एक हजार किलो उत्पादन भएको थियो । असारदेखि साउन तेस्रो सातासम्म दुई हजार किलो ड्रागन स्थानीय बजारमै बिक्री गरिसकेको उनले बताए । उत्पादन बढेसँगै अहिले जिल्लाका स्थानीय बजारमा यसको उच्च माग रहेको तामाङले बताए ।
तामाङले पहिलो चरणमा यसको फल उत्पादन गरी गत वर्ष करिब चार लाख रुपैयाँ बराबरको सेतो जातको ड्रागन फ्रुट बिक्री गरेका थिए । उनका अनुसार असार पहिलो सातादेखि नै पहिलो चरणको फल पाक्ने गर्छ । त्यसैगरी पहिलो चरण सुरु भएको तीन महिनासम्म फल उत्पादन भइरहने गर्छ । आफ्नो परिश्रम र लगानी सही ठाउँ सदुपयोग भएको उनी बताउँछन् । उनले यो व्यवसायको लागि लाखौँ लगानी गरिसकेको बताए । ‘लगानी ठूलो छ, उत्पादन भर्खर सुरु भएको छ’, तामाङले भने । उनका अनुसार ड्रागन फ्रुट सी भेराइटीमध्येको रातो र सेतो जातको फल हो । अहिले तामाङले प्रतिकेजी चार सयका दरले ड्रागन फ्रुट बिक्री गरिरहेका छन् । पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले स्थानीय बजारमा समेत माग धान्न मुस्किल परेको उनले बताए ।
नाम्दुमा उत्पादित ड्रागन फल जिल्लाको आन्तरिक बजारहरू चरिकोट, तामाकोशी, जिरी, मैनापोखरीमा खपत हुने गरेको छ । यस्तै, छिमेकी जिल्ला सिन्धुली र रामेछापमा पनि जाने गरेको उनका छोरा किशोर तामाङले बताए । यो खेती विस्तारका लागि सुरुमा तामाङले ५० लाख रुपैयाँ लगानी गरेका थिए । हाल उनी आफैँले फार्मबाटै बिरुवा पनि उत्पादन गर्दै आएका छन् । अहिले छ हजार वटा पिल्लरमा बिरुवा रहेको र प्रायः सबैले उत्पादन दिन सुरु गरेको उनले बताए ।
ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहदेखि १५ सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । वार्षिक ५०–१५० सेन्टिमिटर वर्षा र २०–३० डिग्री तापक्रम हुने ठाउँमा खेती गर्दा यसको उत्पादन राम्रो हुने गर्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकाले यसको लागि पानी नजम्ने ठाउँ रोज्नुपर्ने तामाङले बताए । बलौटेदेखि दोमट माटोसम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १०–३० प्रतिशतसम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिने कृषि प्राविधिक तथा कृषि विज्ञहरू बताउँछन् ।