काठमाडौँ । भारतका विदेशसचिव विक्रम मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुगेका छन् ।
उनलाई सचिव लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग भारतका विदेशसचिवले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
हालै विदेशसचिवमा नियुक्त भएका भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । भोलि साउन २८ गते विदेशसचिव मिस्री स्वदेश फर्किनेछन् ।