बनियानी (झापा) । प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट तीन युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट प्रहरी चौकी शनिश्चरेले सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरी चौकी शनिश्चरेले गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा घटनामा संलग्नको खोजी सुरु गरेको थियो । शनिबार राति १०ः३० बजे चोरीमा संलग्नको खोजी गर्ने क्रममा उनीहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।
प्रहरीले अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुकका साथै उनीहरुका साथबाट चोरीको समान बरामद गरेको छ । प्रहरीले आदित्य लिम्बूका साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको रु. ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको रु. ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।
प्रहरीले किराना पसलबाट चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।