काठमाडौं । माछापुच्छ्रे बैंक र शैक्षिक परामर्स संघ नेपाल (ई–क्यान, झापा)बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ई–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुवेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात ई–क्यान, झापामा आबद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहजरूपमा उपलब्ध गराउनेछ । साथै, ई–क्यान, झापामा आबद्ध परामर्शदाताको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्नेलगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा दुई सय स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।