काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि १४ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यथास्थिति नभै परिवर्तन गर्ने चाहनाले मिहीन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए ।
साथै, स्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए । मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने उल्लेख छ । यस्तै, अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् । संघीय अस्पतालहरूमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना रहेको उनले जानकारी दिए । यस्तै, समायोजनमा अटाउन नसकेका एक हजार बढी स्वास्थ्य जनशक्तिलाई नयाँ जिम्मेवारीसहित व्यवस्थापन गर्ने उनले बताए । यस्तै, उनले मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधारका लागि कार्यदक्षताका आधारमा चिकित्सकलाई भत्ता दिइने बताए । उनले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभको व्यवस्था गरिने उनको भनाइ थियो ।
लामो योजना सार्वजनिक गरेका मन्त्री पौडेलले राजधानी काठमाडौंमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने पनि घोषणा गरेका छन् । उनले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई पाँच सय शैय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए । शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लास्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा गरे । सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए । यस्तै, उनले औषधिको मूल्य लामो समयदेखि नभएको भन्दै बढी मूल्य लिइएका औषधिको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने उल्लेख गरे ।
वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गरे । उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने बताए । यस्तै, मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको ‘निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता’ कार्यक्रमले ४० वर्षमाथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिङ गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिङ अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गरे ।
‘प्रधानमन्त्रीको आश्वासनले स्रोत व्यवस्थापन हुने आशा’
मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाएका थिए । यस्तै, उनले अहिले अभाव देखिएको स्रोतवृद्धिको योजना पनि सुनाए । उनले प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा स्रोत थप हुने विश्वास व्यक्त गरे । ‘केहीमा स्रोत सुनिश्चित छैन’, उनले भने, ‘तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ ।’ मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा करवृद्धि गरेर पनि स्रोत थप्न सकिने विश्वास व्यक्त गरे । आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालीन योजना क्रमैसँग कार्यान्वयनमा जाने उनले बताए ।