काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ १७ गते आफ्नो १८ औँ वार्षिक साधारण गर्न लागेको हो ।
कम्पनीले आव २०८०/८१ मा चुक्ता पुँजीको १५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको १८ औँ वार्षिक साधारणसभाका विषयहरूका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ हल, काठमाडौंमा बिहानको ११ बजेदेखि सभा हुने जनाएको छ ।
आव २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ । आव २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुत कम्पनीले अघिल्लो आवभन्दा वृद्धि हासिल गर्न सक्षम भएको छ । कम्पनीले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजीबजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी इच्छुक लगानीकर्तालाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।