काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार भएको उक्त भेटमा उनीहरुबीच सहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफाइलगायत नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहलाई विदेश सचिव मिस्रीले कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए ।
उपप्रधानमन्त्री सिंहले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै नेपालले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताए । भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गङ्गा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री सिंहले नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिड–१९ को समयमा भारतले गरेको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिएका थिए । “नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो”, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, “हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ । सीमा नदीमा झोलुङ्गे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुरा राख्यौँ । भारतीय पक्ष यसमा सकारात्मक रह्योे ।”
सो अवसरमा विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैं साथ र सहयोग रहने उल्लेख गरे । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम छ ।