बेलबारी (मोरङ) । अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मोरङको बेलबारी–३मा मृतावस्थामा भेटिएको छ । हात्तीको छावा स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा मंगलबार विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको जानकारी दिए । उनले हात्तिको छावाको मृत्युको कारण भने खुल्न नसकेको बताए । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।