काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्यसहित यो सम्झौता भएको बैंकले जानकारी दिएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेकी हुन् ।
उक्त सम्झौताबमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासका लागि वित्तीय र व्यावसायिक साक्षरताको लागि सहकार्य गर्नेछ । महासंघको अध्यक्ष ज्ञवालीले खुसी व्यक्त गर्दै यस सम्झौता भएपछि महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरिन् ।
साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना, व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।