अमेरिका । अमेरिकाले मध्यपूर्वमा एफ–३५सी लडाकु विमानहरूसहित निर्देशित मिसाइलहरू र विमानवाहकहरूले सुसज्जित पनडुब्बीहरू पठाएको छ । इजरायल र इरानबीच बढ्दो युद्धको त्रासलाई मध्यनजर गर्दै यो निर्णय लिइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
इजरायलका रक्षामन्त्री योभ गालान्ट र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनबीचको वार्तापछि यो निर्णय गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी रक्षामन्त्रीले अमेरिका इजरायलको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
यसअघि अगस्ट १ मा वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा अमेरिकाले मध्यपूर्वमा १२ नयाँ युद्धपोत तैनाथ गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको फोन वार्तामा इजरायलको रक्षा गर्ने बाचा गरेका छन् ।
अमेरिकाले इरानले दुई दिनभित्र इजरायलमाथि आक्रमण गर्ने आशंका गरेको छ । अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र बन्धक सम्झौता हुनुअघि बिहीबारसम्म यो आक्रमण हुनसक्ने आशंका गरेको छ । इजरायली गुप्तचरसँग सम्बन्धित दुई व्यक्तिलाई उद्धृत गर्दै एक्सियोसले यो दाबी गरेको हो ।