घोराही । दाङमा खोटो संकलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गरेका छन् ।
वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ । गाउँमा आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतमा खर्च गरिएको बङ्लाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए । आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समूहबाट संकलन भएको पैसा खर्च गर्ने गरिएको उनले जानकारी दिए । उनले भने, ‘खोटो संकलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरेका छौँ ।’ सल्लाको खोटो प्रतिकेजी एक हजार दुई रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
एउटा सल्लाको रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो संकलन हुने गरेको छ । चिसो मौसममा भने खोटो जमेर कम संकलन हुने गरेकाले बन्द हुने गर्छ । जिल्लामा सल्लाको खोटो संकलनबाट ३२ लाख बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । उनका अनुसार सल्लाको खोटो बिक्रीबाट संकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।
गत वर्ष जिल्लामा ७८ हजार किलो सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैयाँ राजस्व संकलन भएको थियो । खोटोबाट गत वर्षको तुलनामा यस वर्ष तेब्बर राजस्व संकलन भएको छ । गत वर्ष सल्लाको खोटो संकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्व वृद्धि भएको हो । अघिल्लो वर्ष दश वटा वन समूहबाट खोटो संकलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।