मुगु । गमगढी–तारापानी–सोरुकोट सडक पहिरोले बगाएपछि दुई सातादेखि सडक अवरुद्ध भएको छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । सोरु गाउँपालिकाका सर्वसाधारणलाई सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो ।
हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई जोखिमपूर्ण यात्रामा कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए ।
शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी– तारापानी– सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।
सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको बताए । गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ ।