काठमाडौं । ग्लोकल टिन हिरो नेपाल १०औँ संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरेको छ । देशभरिबाट आएको सात सय नौ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्यविवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०/२० चयन गरिएको हो ।
२०/२० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान/अनुसन्धानजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । यस वर्षका उत्कृष्ट किशोरकिशोरीको सूचीमा आदेश रेग्मी, आशीष पन्थी, आयुष्मान पुरी, आर्यन बस्नेत, आशीष बञ्जारा, घनश्याम विश्वकर्मा, ह्याङ्साम नेम्वाङ, कौशल निरौला, किशोर शाही, क्रिस्टिना खनाल, निश्चल भट्टराई, प्रशिम तिम्सिना, पूर्णिमा तिम्सिना, सजनी शर्मा, सौरभ बास्तोला, शक्ति केसी, श्रीजय सुवेदी, सिन्सिया केसी, सुगम पराजुली र तुषार शाह रहेका छन् । यस कार्यक्रमका लागि ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुपसँग साझेदारी गरेको छ ।
यस्तै, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघ, जर्मनीको दूतावास, युएन वुमेन, पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्युडब्ल्युएफ नेपाल, टोयोटा, केएफसी, पञ्चकन्या ग्रुप, नबिल बैंक, डिसहोम गोलगायत छन् । उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुने जनाइएको छ । उत्कृष्ट चयन भएका युवाहरूको सम्मान सेप्टेम्बर १ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सव र सम्मेलनमार्फत हुनेछ ।