काठमाडौं । पोखरा चेम्बर अफ कमर्स कास्कीका सदस्य र सदस्यका परिवारले मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् । चेम्बर र अस्पतालबीच मंगलबार सम्झौता भएसँगै चेम्बरका सदस्य तथा परिवारले छुट पाउने भएका हुन् । सम्झौताअनुसार टिकट र चिकित्सकको परामर्श निःशुल्क हुनेछ भने सामान्य बेडमा २५ प्रतिशत छुट पाइनेछ । यसैगरी नियमित जाँचमा १५, न्युरोसर्जरी तथा अतिविशिष्ट सेवाबाहेक शल्यक्रियामा १० र विशेष अनुसन्धानमा १० प्रतिशत छुट प्राप्त हुनेछ । सम्झौतापत्रमा चेम्बरका तर्फबाट अध्यक्ष उमराज बास्तोला र अस्पतालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूबिलले हस्ताक्षर गरेका छन् । उपचारमा छुट पाउनका लागि चेम्बरको नामावली, परिचयपत्र र निवेदन अनिवार्य हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौता गर्दा चेम्बरका तर्फबाट उपाध्यक्ष नवराज आचार्य, महासचिव गोकर्ण अधिकारी, सचिव एवं सूचना विभाग प्रमुख सीमा कोइराला, सचिव सरिता सुवेदी, सहकोषाध्यक्ष बोधराज सुवेदीका साथै अस्पतालका तर्फबाट कृष्णमोहन श्रेष्ठलगायत सहभागी थिए । पोखरा चेम्बर अफ कमर्स कास्कीले यसअघि पोखरास्थित फिस्टेल ड्रिम पार्कसँग पनि छुटसम्बन्धी सम्झौता गरेको हो ।