रुस । सन् २०२२ फेब्रुअरी २४मा सुरु भएको रुस–युक्रेन युद्धले मंगलबार नौ सय दिन पूरा गर्यो । साढे दुई वर्षदेखि चलिरहेको यो युद्धमा पछिल्लो साता रुसका लागि निकै खराब साबित भएको छ । युक्रेनले पहिलो पटक रुसमाथि प्रहार गरेको छ ।
युक्रेनी राष्ट्रपति मेलोडिमिर जेलेन्स्कीले मंगलबार साँझ देशलाई सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुस्र्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताएका छन् । उनले युक्रेनी सेनाले रुसी सेनालाई नियन्त्रणमा लिएर अगाडि बढिरहेको बताए ।
युक्रेनले गरेको अकस्मात आक्रमणपछि दुई लाख रुसी नागरिक घर छाडेर भागेका छन् । युक्रेनले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको सीमामा घुसपैठ गरेको यो पहिलो पटक हो ।
अमेरिकास्थित युद्ध अध्ययन संस्थान (आईएसडब्लू) का अनुसार रुसले २०२४ मा युक्रेनको एक हजार एक सय ७५ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ ।
बेलगोरोड क्षेत्रमा सङ्कटकाल घोषणा
रुसले बेलगोरोड क्षेत्रमा क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ । युक्रेनी गतिविधिलाई मध्यनजर गर्दै रुसले सङ्कटकालको घोषणा गरेको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार जानकारी दिएका छन् । उनले द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको बताएका छन् । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथैै नागरिकको मृत्यु तथा घाइते भएको उनले बताए ।
जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न बुधबारदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा सङ्कटकालीन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत जारी विज्ञप्तिमा उनले भने । क्षेत्रीय सरकारले संघीयस्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न संघीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताए ।