क्यानवेरा । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर चार दशमलव दुई प्रतिशत पुगेको छ । गत जुन महिनामा यो दर चार दशमलव एक प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछिकै उच्च हो ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर चार दशमलव एक प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ ।
एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कुल सङ्ख्या ५८ हजार दुई सयले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार नौ सयले बढेर छ लाख ३७ हजार एक सय पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।
सहभागिता दरले कार्यरत वा सक्रियरूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६ दशमलव नौ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७ दशमलव एक प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।
रोजगारी अनुपात शून्य दशमलव एक प्रतिशतले बढेर ६४ दशमलव तीन प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रस्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४ दशमलव चार प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ । रासस/सिन्ह्वा