काठमाडौं । नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार छ प्रतिशतभन्दा बढीले आम्दानी घटेको पाइएको हो । टेलिकमको गत आर्थिक वर्ष २०८०/८१ मा कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ । टेलिकमले अघिल्लो आव २०७९/८० मा ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी दुई अर्ब ८० करोड ६५ लाख (अर्थात् छ दशमलव ३२ प्रतिशत) ले कमी भएको हो । यस्तै, कम्पनीको सञ्चालन आयमा पनि कमी आएको छ । गत आवमा कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही समयमा कुल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सञ्चालन आयमा एक अर्ब ८१ करोड ३ लाख रुपैयाँले (अर्थात् चार दशमलव ९९ प्रतिशत) ले कमी आएको हो ।
यसैगरी कम्पनीको मुनाफामा पनि भारी गिरावट आएको छ । गत आवमा कम्पनीले छ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा सात अर्ब ९२ करोड एक लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफामा एक अर्ब ३० करोड २३ लाख रुपैयाँ (अर्थात् १६ दशमलव ४४ प्रतिशत) ले कमी आएको हो । कम्पनीका अनुसार करअघिको मुनाफा भने ११ अर्व ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सो मुनाफा ११ अर्ब ८४ करोड २५ लाख रुपैयाँ रहेको थियो । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा रहेको छ ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआबद्धता आयमा कम्पनीले करिब एक अर्ब ४३ करोड ८४ लाख रुपैयाँ गुमाउन परेको जनाएको छ । साथै, सो सेवाले कम्पनीको समग्र भोइस तथा एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको जनाएको छ । बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्य सञ्चालन गरिएकाले नाफामा कमी आएको कम्पनीले बताएको छ । यस्तै, सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन, सेवा सञ्चालनका लागि आवश्यक ब्यान्डविथ कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको कम्पनीले जनाएको छ ।
कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रुपैयाँको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा परिभाषित लाभ सम्पत्तिमा रकम छुट्टाइएको लगायतका कारणबाट कम्पनीको आय तथा नाफामा कमी आएको जानकारी गराएको छ ।