काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले एक महिनामा भएगरेका कामको प्रगति र आगामी दिनको कार्ययोजना सार्वजनिक गरेका हुन् ।
भौतिकमन्त्री दाहालले पूर्वाधार निर्माणलाई गति दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइएको र त्यसको नियमित अनुगमनसमेत भइरहेको बताए । वर्षात् अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए । साथै, अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा दुई घण्टाभित्र अवरोध हटाई सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । सो कार्यका लागि एक सय ३५ वटा यान्त्रिक उपकरण विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने एक सय २९ वटा यान्त्रिक उपकरण आवश्यकताअनुसार तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको छ । निर्माणाधीनबाहेकका प्रमुख राजमार्गमा प्रथम चरणको पटके मर्मतका लागि सबै सडक डिभिजन कार्यालयबाट बोलपत्र आह्वानको सूचना प्रकाशन भइसकेको र पहिलो चरणको पटके मर्मत दशैं अगावै सक्ने लक्ष्य राखेको जनाइएको छ । त्यस्तै, बर्दिवास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुलमध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास सम्पन्न भएको जनाइएको छ । भौतिक मन्त्रालयले चालू आर्थिक वर्षका लागि पाएको वार्षिक बजेटमध्ये गत साउन मसान्तसम्ममा छ अर्ब १८ करोड खर्च भई चार दशमलव ११ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको छ । आयोजनाको काम गुणस्तरीयरूपमा समयमै सम्पन्न गर्ने सुनिश्चतताका लागि निर्माणाधीन सडक तथा पुलको स्थलगत अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । सूर्यविनायक–धुलिखेल सडक, अरनिको राजमार्गको धुलिखेल–खाबा खण्डमा सडक तत्काल निर्माण गर्न निर्देशन दिएको जनाइएको छ । साथै, अरनिको राजमार्गको बाह्रबीसे नजिक खागदल खोलामा बेलिब्रिज जडान गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ । उक्त स्थानमा अहिले डाइभर्सनमार्फत सडक सञ्चालन भइरहेको र बेलिब्रिज जडानका लागि गत साउन २५ गते ठेक्का लगार्ई बेलिब्रिज जडान सुरु भइसकेको जनाइएको छ ।
त्यस्तै, मन्त्रालय मातहतका रुग्ण ठेक्काको अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको जनाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा बजेट अभावमा भुक्तानी हुन नसकेको आठ अर्ब ६६ करोड रकमको विवरण संकलन गरी बजेट व्यवस्थापनको लागि पहल गरिएको जनाइएको छ । यस अवधिमा सडक विभागको पुँजीगत खर्च चार अर्ब ३० करोड रहेको छ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङमा गत साउन महिनामा मात्र एक सय ८८ मिटर क्रङ्क्रिट लाइनिङ सम्पन्न गरी जम्मा दुई हजार चार सय २६ मिटर लाइनिङ सम्पन्न भएको जनाइएको छ । त्यस्तै, सिद्धबाबा सुरुङको एक सय ४४ मिटर सुरुङ खन्ने काम सकिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे खण्डको ठेक्का सम्झौता सम्पन्न भएकोमा हाल निर्माण व्यवसायी आयोजना निर्माण क्षेत्रमा परिचालन हुने क्रममा रहेको जनाइएको छ । हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको माडी बगाइदेखि अमुवा हुँदै ठोरी सडकको विकल्पमा बगाइदेखि कुसुमखोला हुँदै ठोरी र रिउ राप्ती खण्डमा कसरी पुलदेखि ध्रुवाघाट देउराली बनकट्टासम्मको विकल्पमा रिउ खोलादेखि ध्रुवाघाट राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडकखण्डको रेखांकन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जनाइएको छ ।
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण समयमा हुन नसकेको विद्यमान अवस्थामा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी सवारी चालक अनुमतिपत्रको विद्युतीयप्रति हेर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिइएको, क्युआर कोडसहितको सवारीचालक अनुमतिपत्र छपाइका लागि खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको, सवारीदर्ता प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएको लगायतका विषय समीक्षा प्रतिवेदनमा राखिएका छन् ।