काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए ।
ख्वापाःलाई पाँच तलाको आरसीसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडिपट्टी ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने जनाइएको छ । कुल दुई सय ३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र एक सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ । भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइने प्रवक्ता महर्जनले बताए । यस्तै, भवन परिसरमा भगवान् गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।