काठमाडौं । नेपालले भारतलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । द्विपक्षीय सम्झौताअनुसार नेपालले भारतका बिहार र हरियाणा राज्यलाई सो विद्युत् निर्यात गर्ने भएको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र बिहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । नेपालले बिहारलाई १० वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् र हरियाणा राज्यलाई दुई जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हाल हरियाणा राज्यलाई एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ ।
बिहारमा ११ दशमलव ६४ मेगावाटको दोर्दी–एक, कुल १४ दशमलव ४५ मेगावाटको मायाखोला, नौ दशमलव ९९ मेगावाटको तल्लो पिलुवा, १० दशमलव ६७ मेगावाटका तल्लो खारे, ११ दशमलव ६४ मेगावाटको माथिल्लो खिम्ती, छ दशमलव आठ मेगावाटको माथिल्लो खिम्ती–दोस्रो, १४ दशमलव चार मेगावाटको मोदी, १४ दशमलव छ मेगावाटको गण्डक, १९ दशमलव २१ मेगावाटको माथिल्लो सोलु र ११ दशमलव ६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् निर्यात हुनेछ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिने भएको हो । यस्तै, हरियाण राज्यमा भने ७५ मेगावाटको लिखु–एक र ५० दशमलव ८९ मेगावाटको लिखु–२ बाट उत्पादित एक सय २५ दशमलव ८९ थप विद्युत् बिक्री गरिनेछ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५ दशमलव २५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ ।
भारतबाट स्वीकृति पाएसँगै अब विहारमा पनि पहिलो पटक विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँगै अब छिट्टै विहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने जानकारी दिए । ‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ’, उनले भने । यस्तै थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त रहेको उनले बताए । विद्युत् निर्यातको परिणाम बढ्दै जाने जनाईएको छ । चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको थियो ।