काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १५ दशमलव ५० प्रतिशतका दरले हुन आउने तीन करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव कम्पनीको भदौ १७ गते हुने १८औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।
वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यीबाहेक सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।