दोलखा । जिल्लाका नौ स्थानीय तहमा संघ र प्रदेश सरकारबाट आएको ४८ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ । यहाँ रहेका दुई नगरपालिका र सात गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ४८ करोड तीन लाख ७५ हजार रुपैयाँ रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ ।
यहाँका स्थानीय तहहरूले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षको बजेटबाट विनियोजित ससर्त, विशेष र समपूरक अनुदानमार्फत आएको रकम फिर्ता गएको हो । पालिकाहरूले विभिन्न कारणले खर्च गर्न नसकी तथा काम सम्पन्न भएपश्चात बाँकी रहन गएको सो रकम फिर्ता गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विभिन्न योजनाका लागि विनियोजित रकममध्ये शून्य खर्च भई पाँच करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने कार्य सम्पन्नपश्चात बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ । फिर्ता भएको रकममध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबैभन्दा कम वैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयले जनाएको छ ।
भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार रुपैयाँ फिर्ता भएको छ भने वैतेश्वर गाउँपालिकाबाट दुई करोड ६४ लाख २० हजार रुपैयाँ फिर्ता भएको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाबाट सात करोड २४ लाख ७१ हजार रुपैयाँ, गौरीशंकर गाउँपालिकाबाट छ करोड पाँच लाख २५ हजार रुपैयाँ, विगु गाउँपालिकाबाट चार करोड ५६ लाख ५७ हजार रुपैयाँ र जिरी नगरपालिकाबाट चार करोड ४० लाख ३३ हजार रुपैयाँ फिर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेलुङ गाउँपालिकाबाट चार करोड दुई लाख ७४ हजार रुपैयाँ, शैलुङ गाउँपालिकाबाट तीन करोड ७७ लाख ६७ हजार रुपैयाँ र कालिञ्चोक गाउँपालिकाबाट तीन करोड ४८ लाख ४२ हजार रुपैयाँ फिर्ता भएको छ ।
समग्रमा दोलखाका स्थानीय तहहरूको लागि गत आर्थिक वर्षमा प्रदेश तथा संघबाट विनियोजित रकममध्ये एक दशमल ९० प्रतिशत रकम खर्च नभई फिर्ता भएको छ भने कार्यसम्पन्नपश्चात बाँकी हुन गएको १४ दशमलब ७५ प्रतिशत रकम फिर्ता भएको छ ।