काठमाडौं । नबिल बैंकले घर बनाउनका लागि सात दशमलव ९९ प्रतिशत व्याजदरमा नै ऋण उपलब्ध गराउने भएको छ । बैंकका अनुसार आधार दर सरह नै व्याजदरमा घर कर्जा उपलब्ध गराइएको हो ।‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजनाअन्तर्गत सात दशमलव ९९ प्रतिशत व्याजदरमै घर कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
बैंकले भदौ महिनाका लागि सात दशमलव ६३ प्रतिशत आधारदर निर्धारण गरेको छ । आधारदरमा तीन प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकको भनाइ छ । सो आधारमा घर कर्जाको व्याजदर १० दशमलव ६३ प्रतिशत व्याजदर हुन आउँछ । तर, सो योजनाअन्तर्गत बैंकले सात दशमलव ९९ प्रतिशत व्याजदरमा घर कर्जा उपलब्ध गराउने छ । बैंकका अनुसार घर कर्जा अधिकतम ३० वर्षसम्मको अवधिको लागि हुने र व्याजदर सात वर्षसम्मको लागि स्थिर हुनेछ ।