काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा बुधबार भएको ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीका साथै विदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने योजना सरकारको रहेको जानकारी दिए । यस्तै, उनले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुनेगरी ठूलाठूला बहुर्राष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिने उनको भनाइ थियो । ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै उनले हाल देखिएका समस्या बृहत् छलफलमार्फत समाधान गर्न सकिने उल्लेख गरे । नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पुर्याउन सबैले मिलेर काम पर्नेमा उनको जोड थियो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको बताए । ‘बैंकसँग जलविद्युत्मा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौँ’, उनले भने, ‘विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।’
विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दाबढी जलविद्युत् आयोजनाले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकामा लामो समयदेखि अनुमति नदिएकोे, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशतमा हुने काममा २८ प्रतिशत भन्सार पुर्याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराए । कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का नेपाल निर्देशक बाबाकर फायले आईएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए ।
कार्यक्रममा डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकले वर्षेनि ४०÷५० अर्ब रुपैयाँ मात्रै ऊर्जामा लगानी गर्न सक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताए । विदेशी लगानीमा ऊर्जाको दिगो विकास गर्न सकिने र त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासनमा जोड दिनुपर्ने उनको भनाइ थियो । उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले आफ्नो संस्थाले विदेशी लगानी नल्याएको भए हाल यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन आवश्यक रहेको बताए ।