काठमाडौं । मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच सम्झौता भएको छ । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यावहारिक ज्ञानको लागि इन्टर्नसिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो ।
उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् । चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करियर विकासका कार्यक्रमहरूमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही अवसरहरू प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझदारी पाँच वर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरू हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरू, प्राज्ञिक व्यक्तित्वहरू सीताराम गैह्र्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उप–प्राध्यापकहरू, शिक्षक, शिक्षिकाहरू, समजसेवीलगायत वडा नं.९ का वडाध्यक्ष कृष्ण सुवेदीलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।