नयनँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी पोल्याण्ड र युक्रेनको दुईदिने भ्रमणका क्रममा बुधबार पोल्याण्ड पुगेका छन् । उनले बिहीबार पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्नेछन् ।
भारतबाट प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण ४५ वर्षमा यो पहिलो हो । यसअघि सन् १९७९मा मोरारजी देसाई पोल्याण्ड पुगेका थिए । पोल्याण्डसँगको कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा मोदीले पोल्याण्ड भ्रमण गरेका हुन् । पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले मध्य युरोपमा पोल्याण्ड भारतको आर्थिक साझेदार भएको बताएका छन् ।
प्रधानमन्त्री मोदी पोल्याण्डपछि अगस्ट २३मा युक्रेन पुग्नेछन् । त्यहाँ उनले राष्ट्रपति भोलोदेमार जेलेन्सीसँग युद्धको शान्तिपूर्ण समाधानका लागि आफ्ना विचारहरु आदानप्रदान गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी अगस्ट २१ देखि २२ सम्म पोल्याण्ड भ्रमणमा रहनेछन् । त्यसपछि रेलबाट युक्रेन जानेछन् ।