दोलखा । जिल्लामा पछिल्ला दिनहरूमा मौसम परिवर्तनसँगै डेंगु, भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको छ । यहाँ अस्पतालले दिएको जानकारीअनुसार केही दिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया, डेङ्गुलगायतका बिरामीको संख्या ४५ प्रतिशतले बढेको हो ।
उपचारमा आउनेमध्ये अधिकांश बिरामी डेंगुको लक्षण भएका, मौसमी रुघाखोकी, भाइरल ज्वरो र पखालाका रहेको वैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले जानकारी दिइन् । डा पाठकका अनुसार साउन यता डेङ्गु संक्रमणको लक्षण लिएर आउने बिरामीको संख्या दुई सयभन्दा धेरै रहेको जानकारी दिइन् । हालसम्म डेङ्गु, भाइरल ज्वरो, मौसमी रुघाखोकी, झाडापखाला, पिसाब इन्फेक्सनलगायतका समस्या लिएर आउने बिरामीको संख्या एक हजार बढी रहेको उनले बताइन् । वैतेश्वर अस्पतालमा डेङ्गुको लक्षण लिएर आउनेमध्ये हालसम्म तीन जनामा पोजेटिभ देखिएको छ ।
त्यसैगरी वैतेश्वरका वडा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा समेत दैनिक बिरामी बढिरहेको नाम्दु स्वास्थ्य चौकी इन्चार्ज नवीन दाहालले बताइन् । वडा नम्बर–६ को नाम्दु स्वास्थ्य चौकीमा एक महिनाको अवधिमा चार सयभन्दा बढी आएको दाहालले जानकारी दिइन् । मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुन कम्तीमा एक हप्तादेखि दुई हप्तासम्म लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । सदरमुकाम चरिकोटको पशुपति चौलागाईं अस्पताल, च्छोरोल्पा अस्पताल, सामुदायिक हस्पिटल चरिकोट, धुलिखेल अस्पताल दोलखा र जिरी अस्पतालमा पनि डेङ्गु, भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको चाप बढेको छ ।
डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले यसबाट बच्न घर वरपर सरसफाइ गर्न, पानीका खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, शरीर ढाक्ने कपडा लगाउने, झुलभित्र मात्रै सुत्ने, सिटामोलबाहेक अन्य औषधि प्रयोग नगर्ने, प्राप्त पानी पिउने गर्नुपर्ने डा पाठकले जानकारी दिइन । त्यसैगरी मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने उनले बताइन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई डा पाठकको सुझाव रहेको छ ।