काठमाडौं । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनमा समस्या देखिएको सरोकारवालाहरूले बताएका छन् । सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरे पनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा आयोजित छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तिको लागि बाटो खुला गरेको भए पनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए । संविधानतः गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गरिरहेको भए पनि त्यसमा उल्लेखित अधिकारहरू प्राप्त गर्न नसकिएको उनले गुनासो गरे । सो नागरिकता लिने क्रममा सम्बन्धित निकायहरूमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिनको लागि समस्या भएको गुनासो आएको उनले बताए । उनका अनुसार नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक परिपत्र गर्ने प्रतिबद्धता जनाए । यस्तै, उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखापरेका कानुनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए । उक्त छलफलमा नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू, कानुन तथा नियमावली संशोधनका उपायहरू तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यावहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत् छलफल गरिएको थियो । कार्यक्रममा गृहमन्त्री लेखकसहित संविधानसभा सदस्यहरू वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रियसभाका पूर्वसदस्य राम नारायण बिडारी र पूर्व महान्यायधिवक्ता अग्नि प्रसाद खरेल सहभागी थिए ।