नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गरेर पाँचवटा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो ।इजाजतपत्र खारेज हुने रेमिट्यान्स कम्पनीहरूमा काठमाडौंको लाजिम्पाटमा कार्यालय रहेको राम्रो रेमिट, काठमाडौंकै गौशालामा रहेको ग्लोबल माउन्टेन रेमिट प्रालि, काठमाडौंको दरबारमार्गमा कार्यालय रहेको संसार रेमिट प्रालि, काठमाडौंको न्यूरोडमा कार्यालय रहेको ललित मनी ट्रान्सफर प्रालि र काठमाडौंको अनामनगरमा कार्यालय रहेको म्याक्स मनी ट्रान्सफर प्रालि छन् ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित)को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूको अनुमति खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ । खारेज भएका यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पँैतीस) दिनभित्र यस विभागमा लिखितरूपमा जानकारी दिन नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित)को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको हो, राष्ट्र बैंकले भनेको छ । उक्त तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानत समेत फुकुवा भई जाने राष्ट्र बैंकले जानकारी दिएको छ ।
इजाजतपत्र स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने राष्ट्र बैंकले जनाएको छ ।