काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले खेर नजाने बीमा योजना सुरु गरेको छ । देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेकोले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजनाअन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको हो ।
यात्रा बीमाअन्तर्गत आफ्नो देशबाहिर यात्रा गर्दा हुने अप्रत्याशित र आपतकालीन खर्चहरूको जोखिम बहन गरिने कम्पनीको भनाइ छ । यसअन्तर्गत यात्राको क्रममा हुन सक्ने व्यक्तिगत दुर्घटना, अप्रत्यासितरूपमा हुन सक्ने मेडिकल खर्च, व्यक्तिगत दायित्व, यात्रामा हुने ढिलाइ, हाइज्याक अर्थात् अपहरण, कानुनी खर्च आदि रहेका छन् । यो योजनाअन्तर्गत वैदेशिक यात्रामा रही माथि उल्लेख भएका अनेक सुविधाहरूको साथसाथै यात्राबाट स्वदेश फर्किँदा समेत महिनौँसम्म पनि स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।